पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ। लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेशन नेपालले अन्ततः स्थान परिवर्तन गरी पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गर्दै आएको गुठीको जग्गा तथा आसपासका स्थानीयको जमिनमा २०८१ चैत १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको हो।
स्थान परिवर्तनको पृष्ठभूमि
बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमिपूजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमिपूजन रोक्न खोजेपछि दुवै पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दू महासंघका प्रतिनिधि, कोटिहोम महायज्ञका आयोजक मानव सेवा फाउण्डेशन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बसेको थियो। बैठकले कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो।
वैकल्पिक स्थानमा महायज्ञ सञ्चालन
समस्या समाधान समितिले वैकल्पिक स्थानको खोजी गरेपछि अन्ततः कोटिहोम महायज्ञलाई पोखरा महानगरपालिका वडा नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति) को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर सञ्चालन गर्ने निर्णय भएको हो।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञका लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा महायज्ञ सञ्चालन गर्न अनुमति दिएपछि आयोजक मानव सेवा फाउण्डेशन नेपाल बिरौटामै कोटिहोम महायज्ञ सञ्चालन गर्नका लागि तयार भएको हो।
तयारी तीव्र
पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्न अनुमति दिएपछि अहिले आयोजक मानव सेवा फाउण्डेशन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ।
स्थानीयस्तरबाट स्वागत र ऐक्यबद्धता
आइतवार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि लगायतले उपस्थित भई भव्य स्वागत गरेका थिए। त्यस्तै, कोटिहोम सफल बनाउन ऐक्यबद्धता समेत व्यक्त गरेका छन्।