अब भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने — OSNepal

अब भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने

LC (KTM) March 23, 2025 0

बैतडी, १० चैतः बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै महामारी रोग ‘पिपिआर’ फैलन नदिन भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो । पञ्चेश्वरलगायत क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकाले त्यसबाट बच्न यस्तो गर्नुपरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर साउँदले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले महामारी फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न आग्रह गर्रिको बताउनुभयो । उहाँले भन्नुभयो, “महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न भनेका हौँ । पालिकाभरिका सबै किसानलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्दर्छौँं ।”

यसअघि पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए । यस रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

शिविरका साथै हाल पनि बाख्रालाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख गुमानी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौँ । यसबाहेक आसपासका गाउँमा नियमित खोप दिने कार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकालाई पनि भेडाबाख्रा ओसारपसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ । बाख्रामा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र र पालिकाको पशुसेवा केन्द्रमा सम्पर्क गर्न सुझाइएको छ । पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायत लक्षण देखिन्छ । लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर