नेपाल स्काउटका अनावश्यक गतिविधिप्रति प्रधान कार्यालयको ध्यानाकर्षण — OSNepal

नेपाल स्काउटका अनावश्यक गतिविधिप्रति प्रधान कार्यालयको ध्यानाकर्षण

Kesh Karki (USA) March 23, 2025 0

काठमाडौं – नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समयदेखि नेपाल स्काउटसम्बन्धी अस्वभाविक गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु भएको आन्दोलन जारी छ। आन्दोलनरत पक्षले स्काउटको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रशासनले रोक लगाएको थियो। आन्दोलनकारीहरूले निष्पक्ष छानबिन र संस्थाको सुधारका लागि आफ्ना मागहरू राखेका छन्। उनीहरूले माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। वार्ताका लागि सकारात्मक देखिए पनि समाधान नभएसम्म संघर्ष जारी राख्ने उनीहरूको अडान छ।

यसै सन्दर्भमा नेपाल स्काउट प्रधान कार्यालयले आन्दोलनको नाममा भइरहेका यस्ता गतिविधिले दैनिक कार्य सञ्चालन र चालु आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको जनाएको छ। साथै, राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरू उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको तथ्य आन्दोलनरत पक्षलाई समेत जानकारी गराइएको छ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारिक जानकारी तथा मागहरू पेश नगरी दैनिक अवरोध सिर्जना गरिनु गम्भीर विषय भएको कार्यालयको भनाइ छ। नेपाल स्काउटका आधिकारिक पदाधिकारीहरूले अनौपचारिक रूपमा पटक–पटक संवादमार्फत समाधानको पहल गरे तापनि गतिविधिहरू जारी रहनु चिन्ताको विषय भएको बताइएको छ।

त्यसैले अनौपचारिक संवादलाई औपचारिक रूप दिन नेपाल स्काउट राष्ट्रिय कार्यकारी समितिले २०८१।१२।०६ गते बसेको बैठकमार्फत आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ। समितिले आन्दोलनरत पक्षसँग संवादका लागि पहल गरिरहेको छ। औपचारिक रूपमा आफ्ना कार्यक्रम तथा मागहरू प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रूपमा भइरहेको आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने भएकाले सबै पक्ष सचेत र सजग रहनुपर्ने आवश्यक छ।

नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्र नभई प्रमुख स्काउट तथा माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजुलाल चौधरीज्यू स्वयं पनि समस्याको समाधानका लागि गम्भीर छन्। आन्दोलनरत पक्षकै मागअनुसार प्रमुख स्काउटको अगुवाइमा २०८१।१२।०८ गते शुक्रबार, उहाँकै कार्यकक्षमा आन्दोलनरत समूहका व्यक्तिहरूसँग छलफल भएको थियो। छलफलका क्रममा प्रमुख स्काउटले देखाउनुभएको चासो र समाधानका लागि देखाउनुभएको मार्गदर्शनलाई आन्दोलनरत पक्षले सहजै स्वीकार गरी अघि बढ्नु नै समाधानको प्रारम्भिक बिन्दु हुनेछ।

अनौपचारिक रूपमा प्राप्त आन्दोलनरत पक्षबाट उठाइएका विषयलाई हेर्दा, अधिकांश माग संस्थागतभन्दा व्यक्तिगत पूर्वाग्रहमा केन्द्रित रहेको देखिन्छ। तथापि, आधिकारिक निकायमार्फत धेरै विषय समाधान भइसकेका छन् भने बाँकी जायज विषयहरूलाई संवादमार्फत समाधान गर्नुपर्छ भन्ने मान्यतालाई सबैले स्वीकार गर्नु आवश्यक छ।

यसै सन्दर्भमा, सम्मानित सर्वोच्च अदालतमा २०८१।१०।०९ (मुद्दा नं. ०८१– WO–०८२०) र २०८१।११।१५ (मुद्दा नं. ०८१–WO–०९५७) मा पूर्व प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले दायर गरेको रिटमा उठाइएका विषय र हाल आन्दोलनरत पक्षले उठाएका मागहरू प्रायः एउटै देखिन्छन्। ती दुवै रिटको अन्तिम किनारा लाग्ने प्रक्रियामै रहेको र अदालतमा विचाराधीन विषयमा अन्यत्र प्रश्न उठाउन नपाइने तथ्यलाई सबैले स्वीकार गर्नुपर्छ।

त्यसैगरी, यसै विषयमा नेपाल स्काउटका संरक्षक, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युसमक्ष उजुरी पेश भइसकेको छ। सचिवालयमार्फत युवा तथा खेलकुद मन्त्रालयमा पनि उजुरी प्राप्त भएको जानकारी गराउन चाहन्छु। नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्रले २०८१।११।२८ गते युवा तथा खेलकुद मन्त्रालयलाई रायका लागि पत्र पठाएको छ, जसमा आन्दोलनमा उठाइएका मागहरूसँग मेल खाने बेनामी उजुरी दर्ता भई छानबिन भइरहेको छ।

सम्मानित सर्वोच्च अदालत, नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्र, नेपाल स्काउटका संरक्षक, प्रधानमन्त्रीको सचिवालय, युवा तथा खेलकुद मन्त्रालय, प्रमुख स्काउटजस्ता संवैधानिक र उच्च आधिकारिक तहबाटै आन्दोलनरत पक्षले लिखित रूपमा दर्ता गरिएका विषय कानुनी एवं प्रशासनिक परीक्षणको प्रक्रियामा छन्।

संवैधानिक तथा सरकारी परीक्षण भइरहेका विषयहरूबाहेक अन्य विषयहरू भए, तिनलाई संवादमार्फत टुंग्याउन सहजीकरण समिति सक्रिय रहनेछ। आफ्नो अधिकार माग गर्दा आफ्नो कर्तव्य पनि बिर्सनु हुँदैन भन्ने मान्यताका आधारमा सबैले आ–आफ्नो तहबाट नेपाल स्काउटका गतिविधिलाई अघि बढाउन शान्तिपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ। असन्तुष्टिहरूलाई संवादको माध्यमबाटै समाधान गर्नु जरुरी छ।

समस्याको पहिलो र अन्तिम समाधान संवाद मात्र हो भन्ने समितिको ठहर छ। नेपाल स्काउटको गौरवशाली इतिहासलाई निरन्तरता दिन, वर्तमान र भविष्यलाई अझ उज्ज्वल बनाउन सबै स्काउटहरूबीच सहकार्य र एकता आवश्यक छ। साथै, असन्तुष्टिलाई संवादमार्फत सहमतिको दिशामा लैजान नेपाल स्काउटको नेतृत्व तथा सहजीकरण समिति सधैं तयार रहेको जानकारी गराउँदै आन्दोलनरत पक्षलाई व्यक्तिगत चरित्रहत्या, अनर्गल प्रचार–प्रसार तथा अवाञ्छित गतिविधिहरू त्यागी तुरुन्त संवादमा आउन आग्रह गर्दछु।

जय स्काउट।

सन्तोष कुमार थापा

संयोजक, सहजीकरण समिति

(आयुक्त, नेपाल स्काउट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर