प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा — OSNepal

प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा

Kesh Karki (USA) March 23, 2025 0

काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवका लागि पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।

हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन्। २०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्य हुँदै सङ्गठनको विभिन्न तह र जिम्मेवारीहरूमा रहेर कुशलतापूर्वक काम गर्दै आएका पाण्डेले आफू बलियो र स्वाभाविक उम्मेदवार भएको बताएका छन्।

‘प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरूको भरपर्दो, अब्बल र गतिशील सङ्गठनका रूपमा अगाडि बढाउने दृढ सङ्कल्प र प्रतिबद्धतासहित सङ्गठनको कार्यकारी जिम्मेवारी (महासचिव) को स्वाभाविक दावेदारका रूपमा अगाडि बढ्ने सोच बनाएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रेस चौतारी नेपालमा करिब २२ वर्षको ऊर्जाशील समय बिताएका पाण्डे काठमाडौं जिल्लाको संस्थापक सदस्य हुन्। त्यसपछि उनले तत्कालीन उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव हुँदै काठमाडौं जिल्ला समितिको सल्लाहकार भएर काम गरे।

पत्रकार पाण्डे पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी (काठमाडौं), पोखरा हुँदै तेस्रो महाधिवेशनदेखि १०औँ महाधिवेशनसम्म सातौँ पटक प्रतिनिधि बनेका छन्। केन्द्रीय सदस्य तथा प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय कमिटी सचिव हुँदै उपमहासचिवसम्मका विभिन्न तहगत जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका पाण्डेको उम्मेदवारीलाई चौतारी वृत्तमा स्वाभाविक र बलियो मानिएको छ।

नेतृत्व चयनका सन्दर्भमा आफ्नो सङ्गठनको मातृपार्टी नेकपा एमालेले अघि सार्ने विधि र प्रक्रियालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्व चयनको प्रक्रिया पारदर्शी र निश्चित मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। ‘निश्चय पनि दुई दशकको अविरल यात्रा सङ्गठनमा बिताएको एक सिपाहीको नाताले पार्टीले अगाडि सारिरहेको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई मैले नेतृत्व चयनको प्राथमिक लोकतान्त्रिक विकल्पकै रूपमा आत्मसात गरिरहेको छु। तर, यस्तो प्रयास पारदर्शी, एक व्यक्ति – एक मुख्य जिम्मेवारी, व्यक्तिको योगदान, आवश्यकता, योग्यता, क्षमता जस्ता निश्चित मापदण्डमा आधारित हुनुपर्दछ,’ उनले भनेका छन्।

नेतृत्व चयनको सुरूवाती प्रक्रिया सहमतिको प्रयास आम प्रतिनिधिहरूको भावना र चाहनाविपरीत व्यक्तिगत स्वार्थ पूर्तिका लागि होइन, पार्टीको हित तथा चौतारीको संस्थागत र स्वस्थ दीर्घ जीवनका लागि अघि बढाउनका निम्ति हुनुपर्ने धारणा उनले व्यक्त गरेका छन्। त्यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्दै महाधिवेशन सफल पार्न उनले सबैमा हार्दिक अपिल समेत गरेका छन्। उनी हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा सुरू हुँदैछ। १२ गते सम्पन्न गर्ने गरी तय गरिएको महाधिवेशन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

चौतारीको १०औँ राष्ट्रिय महाधिवेशन र नेतृत्व चयनबारे सुरोजंग पाण्डेको धारणा:

हामी यतिबेला नेपाली श्रमजीवी पत्रकारहरूको अग्रणी सङ्गठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको संघारमा छौँ। जिल्ला–जिल्लाबाट साथीहरू महाधिवेशनस्थल विराटनगरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। सबै साथीहरूलाई शुभयात्रा र स्वागत।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्व लिइरहेको अग्रणी र स्थापित सङ्गठन प्रेस चौतारी नेपालको महाधिवेशनप्रति श्रमजीवी पत्रकारहरूको मात्र होइन, देशकै ध्यानाकर्षण भइरहेको छ। चौतारीले महाधिवेशनबाट लिने नीति र आगामी नेतृत्वबारे विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेको छ। यस पृष्ठभूमिमा पार्टी नेतृत्वको सही र समयसापेक्ष मार्गनिर्देशनसँगै प्रतिनिधि साथीहरूको स्वविवेकीय छलफलबाट मात्र सही नीति र नेतृत्वको निर्धारण हुनेछ भन्ने मान्यता राख्दछु।

हाम्रा सामु अनगिन्ती चुनौती छन्। श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा, न्यू मिडियाको दबदबासँगै यसको उपयोग र यसले खडा गरेका चुनौतीहरूको उचित व्यवस्थापन तथा श्रमजीवी पत्रकारको लगानीमा सञ्चालित साना र स्थानीय मिडियाहरूको संरक्षणबाट मात्रै नेपाली पत्रकारिताको दीर्घकालीन हित हुनेछ भन्नेमा हामी स्पष्ट छौँ।

२१औँ शताब्दीअनुकूल नीतिगत र कानुनी प्रश्नहरूको सम्बोधनबाट पत्रकारिता क्षेत्रको समग्र हितको रक्षा र विकास सम्भव छ। पत्रकार आचारसंहिताको परिपालना, पेशागत शुद्धीकरण, अब्बल पत्रकार उत्पादनका लागि लाइसेन्सिङको बहस लगायतका विषयलाई टुङ्गोमा पुर्‍याउन प्रेस चौतारीले अग्रणी भूमिका खेल्न सक्नुपर्छ।

कर्पोरेट मिडियामार्फत हुने एजेन्डा सेटिङले दलाल पुँजीपति वर्गको साम्राज्य विस्तार, श्रमजीवी वर्गमाथि भइरहेको शोषण, उत्पीडन तथा सूचनाको हकको पहुँच स्थापित गर्ने सवालसँग जोडिएका चुनौती मात्र होइन, सामाजिक सञ्जालको दुरुपयोगबाट राष्ट्रियता, सामाजिक सद्भाव, सहिष्णुता, सामाजिक मूल्यमान्यता खलबल्याएर अराजकता सिर्जना गर्ने प्रयासविरुद्ध प्रेस चौतारी नेपालले खेल्ने भूमिकाले नै मुलुकलाई सही मार्गमा डो¥याउन सक्छ भन्ने तथ्यप्रति म विश्वस्त छु।

प्रेस चौतारी नेपालमा करिब २२ वर्ष मैले ऊर्जाशील समय बिताएको छु। २०५९ सालमा काठमाडौं जिल्लाको संस्थापक सदस्य हुँदै उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव, काठमाडौं जिल्ला सल्लाहकार, पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी, पोखरा हुँदै तेस्रो महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्म सातौँ पटक प्रतिनिधि, केन्द्रीय सदस्य तथा प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय कमिटी सचिव हुँदै उपमहासचिवसम्म विभिन्न तहगत जिम्मेवारी पूरा गरेर महाधिवेशनको संघारमा उभिएको छु। चौतारीलाई श्रमजीवी पत्रकारहरूको भरपर्दो, अब्बल र गतिशील सङ्गठनका रूपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धतासहित महासचिव पदको स्वाभाविक दावेदारका रूपमा अगाडि बढ्ने सोच बनाएको छु।

निश्चय पनि दुई दशकको अविरल यात्रा सङ्गठनमा बिताएको एक सिपाहीको नाताले पार्टीले अगाडि सारिरहेको सर्वसम्मत नेतृत्व चयनको प्रयासलाई मैले नेतृत्व चयनको प्राथमिक लोकतान्त्रिक विकल्पकै रूपमा आत्मसात गरिरहेको छु। तर, यस्तो प्रयास पारदर्शी, एक व्यक्ति – एक मुख्य जिम्मेवारी, व्यक्तिको योगदान, आवश्यकता, योग्यता, क्षमता जस्ता निश्चित मापदण्डमा आधारित हुनुपर्दछ भन्ने मान्यता पनि राख्दछु।

सहमतिको प्रयास आम प्रतिनिधिहरूको भावना र चाहनाविपरीत व्यक्तिगत स्वार्थ पूर्तिका लागि होइन, पार्टीको हित तथा चौतारीको संस्थागत र स्वस्थ दीर्घ जीवनका लागि अघि बढाउनका निम्ति हुनुपर्दछ। यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्दै महाधिवेशन सफल पार्न सबैमा हार्दिक अपिल गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर