विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न — OSNepal

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न

Kesh Karki (USA) March 23, 2025 0

चैत ९, २०८१, काठमाडौं – विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो।

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरूप अघि बढाउँदै आएको छ। यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ESG) मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू लागू गरिसकेको छ। हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर छ। साथै, पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिबद्ध रहेको छ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाउँदै आएको छ। यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (SDG) अन्तर्गत ‘सबैका लागि पानी र सरसफाई सुनिश्चित गर्नु’ हो। यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरू सञ्चालन गरिन्छ। यसै क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन तथा जनमानसमा पानीको महत्वबारे जनचेतना फैलाउनका लागि ‘Walk for Water, Walk for Life’ वाकाथन कार्यक्रम आयोजना गरेको हो।

पानी पृथ्वीमा जीवनको आधार हो। मानव मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति, कृषि, उद्योग तथा पारिस्थितिक प्रणालीका लागि पानी अनिवार्य छ। यदि यसको दिगो व्यवस्थापन नगरिए, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका लागि सिद्धार्थ बैंकले यस वाकाथन कार्यक्रम आयोजना गरेको हो।

यस वर्षको विश्व पानी दिवसको मुख्य एजेन्डा ‘हिमनदी संरक्षण’ (Glacier Preservation) रहेको छ। हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउने, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ।

कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलज्यूले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नु भयो। उहाँले पृथ्वीको तापमान वृद्धिसँगै हिमनदीहरू पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताउनुभयो।

बैंकले आयोजना गरेको ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट सुरू भई हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालमै आएर सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका कर्मचारीहरू सहित विभिन्न सरोकारवालाहरू गरी ६५६ जना व्यक्तिहरूको सहभागिता रहेको थियो, जसमा ३९५ जना पुरुष र २६१ जना महिलाहरू थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर