धनुषा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा भट्टराईले संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधतामाथिको प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लैजाने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
अध्यक्ष डा भट्टराईले अग्रगामी राजनीतिक विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औँल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने उल्लेख गर्नुभयो । सङ्घीयतासम्बन्धी आवश्यक नियम तथा कानुन समयमै नबनाइएकाले सङ्घीयता ठिक ढङ्गले अगाडी बढ्न नसकेको उहाँको भनाइ थियो ।