नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण: पूर्ण बस्नेत — OSNepal

नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण: पूर्ण बस्नेत

Kesh Karki (USA) March 22, 2025 0

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले फाइनान्सियल एक्सन टास्क फोर्स (फाट्फ) को ग्रे लिस्ट मा नेपाल पर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ। पार्टीका प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत ले सरकारको गलत आर्थिक नीति तथा क्रियाकलापकै कारण नेपाल आतङ्कवादी गतिविधि तथा अन्य वित्तीय अपराध मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाट्फको ग्रे लिस्ट मा परेको आरोप लगाए।

‘सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको भ्रष्ट आचरण, लुटतन्त्र, क्रोनी क्यापिटलिजम, गैरजिम्मेवार सरकार, अदूरदर्शी आर्थिक नीतिका कारण मुलुक ग्रे लिस्टमा परेको हो,’ बस्नेतले भने।

उनका अनुसार नेपालले गैर-वित्तीय क्षेत्रको नियमन गर्न नसकेको, आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई ट्र्याक गर्न नसकेको, सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मामिलाहरूको अध्ययन गर्न नसकेको, कानूनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहेको, राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरणबाट प्रभावकारी निगरानी हुन नसकेको, तथा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएको कारण आगामी दिनमा मुलुकको आर्थिक विकाससमेत अवरुद्ध हुने खतरा बढेको छ।

‘नकारात्मक सूचीमा परेको मुलुकलाई अन्तर्राष्ट्रिय बैंक तथा दातृ संस्थाहरूले ऋण, आर्थिक सहायता र अनुदानमा कटौती गर्न सक्छन्। साथै, विदेशी ऋण प्राप्त गर्नसमेत कठिनाइ हुने जसपा नेपालको ठहर छ,’ उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर