पोखरा महानगर प्रमुख र सिछुवानका पर्यटन तथा संस्कृति विभाग प्रमुखबीच भेट — OSNepal

पोखरा महानगर प्रमुख र सिछुवानका पर्यटन तथा संस्कृति विभाग प्रमुखबीच भेट

LC (KTM) March 19, 2025 0

सिछुवान (छन्दु), ६ चैतः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानबीच आज भेटवार्ता भएको छ ।

मङ्गलबार पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको सिछुवान प्रान्तको छन्दुमा पहिलो व्यावसायिक चाटर्ड उडानपछि महानगरप्रमुख आचार्य र विभाग प्रमुख लिनबीच भएको भेटमा पोखराबाट छन्दुको नियमित उडान एवं पर्यटकीय साझेदारीलाई लक्षित गरी छलफल भएको महानगरपालिकाको कार्यालयले जनाएको छ । प्रमुख आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य भएको लिनलाई जानकारी दिनुभएको थियो ।

अघिलो वर्ष पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको र पोखरामा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निरन्तरको प्रयासस्वरुप पहिलो व्यावसायिक चाटर्ड उडान गरिएको प्रमुख आचार्यले बताउनुभयो । उडानलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले महानगरका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्नुका साथै पोखरा भ्रमण वर्ष पनि घोषणा भएको उल्लेख गर्दै उहाँले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई पोखरासहित नेपालको भ्रमण गर्न विभाग प्रमुख लिनसँग आग्रह गर्नुभयो ।

विभाग प्रमुख लिनले दुवै देशका भू–भाग हिमालको काखमा रहेका र यहाँका मौसम पनि मिल्दोजुल्दो भएको बताउनुुभएको थियो । छन्दु–पोखरा उडानलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै उहाँले यसका लागि पर्यटक लक्षित योजना तयार गर्न महानगरलाई सुझाव दिनुभयो । छन्दुमा यही मे महिनामा पर्यटन व्यवसायीको सम्मेलन हुन लागेको जानकारी गराउँदै उक्त सम्मेलनमा सहभागी भई लाभान्वित हुन लिनले आग्रह गर्नुभयो ।

छन्दुका लागि नेपालका महावाणिज्यदूत सुरेश राउतले सन् २०२१ देखि छन्दुमा महावाणिज्य दूतावास स्थापना भएको जनाउँदै आर्थिक कूटनीतिको महत्वपूर्ण पाटो पर्यटन पनि रहेको बताउनुभयो । पोखरा पर्यटकीय रूपमा सुन्दर गन्तव्यका साथै आतिथ्यताका दृष्टिबाट अब्बल भएको बताउँदै उहाँको चीनबाट धेरै पर्यटक पठाउन आवश्यक समन्वय गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर