स्यान फ्रान्सिस्को बे एरियाका प्रख्यात व्यवसायी अनिलवावु अर्याल र नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सभापति सुनीलवावु अर्यालका पिता लक्ष्मणवावु अर्यालको ६४ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, उहाँको निधन गत बुधवार भएको हो।
नेपाल प्रहरी सेवाबाट निवृत्त राष्ट्रसेवक लक्ष्मणवावु अर्याललाई दुई महिनाअघि प्यानक्रियाटिक क्यान्सर भएको पुष्टि भएको थियो। उपचारका लागि नेपाल प्रहरी अस्पताल, ओम अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल लगायत विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा भर्ना गरिए पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन।
प्रहरी सेवाबाट निवृत्त भएपछि लक्ष्मणवावु अर्याल सामाजिक कार्यमा समेत सक्रिय रहनुभएको थियो। विशेषगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ। समाजसेवीका रूपमा उहाँले परोपकारी कार्यहरूमा संलग्न रही विभिन्न सामाजिक परियोजनाहरूलाई समर्थन गर्नुभएको थियो।
उहाँका ज्येष्ठ छोरा अनिलवावु अर्याल स्यान फ्रान्सिस्को बे एरियामा प्रविधि, रियल स्टेट, तथा अन्य व्यावसायिक क्षेत्रमा स्थापित नाम हुन्। त्यस्तै, कान्छा छोरा सुनीलवावु अर्याल नेपाल विद्यार्थी संघका पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सभापति हुन् र नेपाली विद्यार्थी तथा युवा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिसक्नुभएको छ।
पारिवारिक स्रोतका अनुसार, लक्ष्मणवावु अर्यालको अन्त्येष्टि धार्मिक परम्पराअनुसार सम्पन्न गरिएको छ। समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूले उहाँको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।