साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव बुटवलमा सम्पन्न — OSNepal

साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव बुटवलमा सम्पन्न

LC (KTM) February 23, 2025 0

बुटवल । साहित्यको विकास र विस्तारसँगै सामाजिक सेवामा समेत समर्पित साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव भव्यताका साथ सुन्दर नगरी बुटवल उपमहानगर पालिकाको बसपार्क स्थित होटल ह्वाइट पाण्डाको सभाहलमा सम्पन्न भएको छ।

साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भन्डारीको अध्यक्षताबाट सुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्य हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा अग्रज साहित्यकार देवेन्द्रराज शाक्यको उपस्थिति रहेको थियो। यस्तै अतिथिहरूमा वरिष्ठ साहित्यकारहरू प्रा. डा. कपिल लामिछाने , वनमाली निराकार, विजय सागर , रुद्र ज्ञवाली , डिल्लीराज भट्टराई डा. श्याम न्यौपाने रहनुभएको थियो।कार्यक्रममा भैरहवा , देवदह, सैनामैना लगायत बुटवल आसपासका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाका महासचिव रामप्रसाद सुवेदी सङ्गमको सञ्चालन र केन्द्रीय सदस्य अमृत भट्टराइको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा अतिथि सत्कारका लागि कमला भन्डारी ढकाल, माया उपाध्याय र सुनिता प्रतिबिम्बले सहयोग गर्नुभएको थियो। साहित्यिक चौतारी नेपालको सातौ अङ्क ‘चौतारी अङ्क ७’ र जापानलाई कर्मथलो बनाउँदै आउनुभएकी साहित्यिक चौतारी नेपाल जापान शाखाकी अध्यक्ष साहित्यकार सरिता लामिछानेको कविता सङ्ग्रह ‘अग्नी सरिता ‘ विमोचन गरिएको थियो भने विमोचित कृतिमाथि साहित्यकार तथा समीक्षक आनन्द थामीले समीक्षा गर्नुभएको थियो। कार्य सम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिदै आएको सर्वोत्कृष्ट शाखा सम्मान पत्र यसपाली लुम्बिनी प्रदेश शाखाले हात पार्न सफल भएको छ। लुम्बिनी प्रदेशका अध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ले प्रमुख अतिथि र अतिथिहरूको हातबाट उक्त सम्मान पत्र ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा पाँचवटा प्रदेश शाखाबाट प्रदेश प्रतिनिधिहरूको सहभागिता रहेको थियो साथै उपस्थित प्रतिनिधिहरूले आ आफ्नो शाखाको प्रतिनिधित्व गर्दै रचना वाचन गरी अतिथिहरूको हातबाट प्रशंसा पत्र ग्रहण गर्नुभएको थियो। जसमा लुम्बिनी प्रदेशबाट नारायण भुसाल, गण्डकी प्रदेशबाट शिव त्रीपाठी, वाग्मती प्रदेशबाट मदन काफ्ले ‘यायावर’ मधेश प्रदेशबाट सीता शर्मा पन्थी, सुदुर पश्चिम प्रदेशबाट डम्मरी कुमारीले रचना प्रस्तुत गर्नुभएको थियो। समय अभावका कारण उपस्थित धेरै स्रष्टाहरूले आफ्नो सिर्जना प्रस्तुत गर्न नपाएपनि केही साहित्यकारहरू जस्तै पूजा जिज्ञासु, रामानुज दासी, ममता लैलै , आवाज शर्मा, गोविन्दराज पौडेल, रीता खराल, दीपा अर्याल, तिलक न्यौपाने, दुर्गा थापा, राधा भट्टराई, सञ्जय घिमिरे, सङ्गम अनुरागी , कमल पोख्रेल ‘निश्छल’ खगेन्द्र बस्याल, सीता ढुङ्गाना काफ्ले, शर्मिला सापकोटा, आइपी सापकोटा, देवेन्द्र कोइराला आदिले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै कार्यक्रममा दीप बोर्डिङ स्कुलको तर्फबाट विधार्थी सुजल भट्टराई, (कक्षा ८ ) न्यू होराइजन स्कुलबाट विशेषजङ्ग कार्की (कक्षा११) र समिप न्यौपाने ( कक्षा ६ ) ले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो। रचना वाचन गर्ने सबै स्रष्टाहरूलाई संस्थाको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा माननीय मुख्यमन्त्रीले साहित्यले समाजमा धेरै कुराको प्रभाव छोड्न सफल हुने भएकाले युवा पुस्ताहरूलाई यसप्रति आकर्षण बढाउनु पर्ने र त्यसका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट विभिन्न नयाँ कार्यक्रमहरू ल्याउन लागिएको कुरा बताउनुभएको थियो । त्यस्तै अतिथि प्रा. डा. कपिल लामिछानेले कार्यक्रम उत्कृष्ट रहेको जानकारी गराउदै आगामी दिनका लागि थप प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो। अन्त्यमा लुम्बिनी शाखा अध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ ले कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर