कांग्रेस भित्रको विवाद उत्कर्षमा, चेपुवामा पर्दै देउवा ! — OSNepal

कांग्रेस भित्रको विवाद उत्कर्षमा, चेपुवामा पर्दै देउवा !

LC (KTM) August 06, 2021 0

काठमाडौं – पटकपटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फी दबाब बढिरहेको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

पछिल्लोपटकको कार्यतालिकाअनुसार साउन १२ बाट वडा अधिवेशन शुरू भई भदौ १६–१९ गतेसम्पन्न हुने भनिएको १४औं महधिवेशन पनि अनिश्चित बनेपछि पार्टीभित्र सभापति देउवाको चौतर्फी आलोचना भइरहेको छ । फेरि पनि सभापति बन्ने रणनीतिमा लागेका देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिन भन्दै ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ समेत शुरू भएको छ ।

खास गरी संस्थापन इतर पक्षका केन्द्रदेखि जिल्लासम्मका नेताहरूले अहिले सभापति देउवासमक्ष समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने एउटै माग राखिरहेका छन् । महाधिवेशनको सुनिश्चितता गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताको दैनिक छलफल र बैठक चलिरहेका बेला ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ भन्दै विभिन्न जिल्ला र क्षेत्रको प्रतिनिधित्व गर्ने युवा नेताहरूले पनि दबाब सिर्जना गर्न थालेका हुन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै अभियानकी नेतृ प्रतिमा गौतमले भन्नुभयो– ‘पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने हाम्रा मागहरू पूरा नभए ७७ जिल्लाबाटै पार्टी नेतृत्वविरुद्ध आन्दोलन हुन्छ ।’

सो अभियानमा मनोजमणि आचार्य, रञ्जित कर्ण, प्रतिमा गौतम, सुवास पोखरेल, प्रमोदहरि गुरागाईं, कमलबहादुर शाह, विनोद कायस्थ, रीता खनाललगायत सहभागी छन् ।

सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा महाधिवेशनको समयसीमाको अन्तिम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिबद्धता र नियतमाथि प्रश्न उठेको जनाइएको छ । समयमा महाधिवेशन नभए कांग्रेसजस्तो ऐतिहासिक पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने भन्दै विधान, नियमावलीअनुरूप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यता विवाद टुंग्याएर महाधिवेशनको सुनिश्चितता गरिहाल्नुपर्ने माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर