साइबर ब्युरोमा कार्यरत हवल्दारले मच्चाए काण्ड, हेडक्वार्टर सम्म तनावमा ! — OSNepal

साइबर ब्युरोमा कार्यरत हवल्दारले मच्चाए काण्ड, हेडक्वार्टर सम्म तनावमा !

LC (KTM) August 06, 2021 0

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्वछनोट परीक्षाको प्रश्नपत्र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहको योजनामा बाहिरिएको खुलेको छ । उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाका परिचर सुरेश बमलाई प्रयोग गरेको खुलेको छ । प्रश्नपत्र लिक गर्न शाहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको र परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम दिलाइदिने आश्वासन दिएको परिचर बमले छानबिन समिति समक्ष बयान दिएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ । प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि भएको पाइएको छ । हवल्दार शाह पहिले यूएन शाखामै कार्यरत थिए । यूएन शाखाकै अधिकारीहरूको जोडबलमा हवल्दार शाहलाई सरुवा गरिएको थियो । सरुवा गरेपछि उनी रुष्ट रहेको यूएन शाखाका अधिकारीले बताए । यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जानकारी दिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको भने संलग्नता देखिएको छ ।

उनलाई पनि कुमार शाहले नै प्रश्न पत्र दिएको खुलेको हो । रुपेशलाई आफूले प्रश्नपत्र दिएको हवल्दार शाहले स्वीकार गरेका छन् । रुपेश र कुमार पहिले यूएन शाखामै कार्यरत थिए । केही समय पहिले उनीहरूको सरुवा भएको थियो । प्रश्नपत्र बाहिरिएको प्रकरणमा २५ बढी प्रहरी जोडिएको छानबिन समितिका एक सदस्यले बताए । ‘यसमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको छ । तर प्रश्नपत्र जहाँ जहाँ पुगेको छ उनीहरूलाई पनि छानबिनको दायरामा तानेका छौ । भोलिका दिनमा कसैबाट पनि नेपाल प्रहरीको छवि धुमिल्याउने दुसप्रयास नहोस् भन्ने हिसावले छानबिन हुन्छ’, बिहीबार ती सदस्यले भने ।

उनका अनुसार छानबिन समितिले आउँदो साता छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘सोधपुछ लगभग सकिएको छ । अब त्यसलाई दस्तावेजिकरण गर्ने हो, आउँदो साता सोमबारसम्ममा बुझाउँछौ ं। हामी यसलाई छिट्टै टुंग्याउने तयारीमा छौं’, उनले भने । परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो । उनी पनि परीक्षा दिने तयारीमा थिए । उनले यो प्रश्नपत्र कहाँबाट आयो भनेर सोधे । ती प्रहरीले आफूलाई अर्कैले पठाएको भनेर नाम दिए । ती अधिकारीले यूएन शाखा प्रमुखलाई त्यो प्रश्नपत्र सही होकि होइन भनेर निश्चित गर्दा प्रश्नपत्र लिक भएको पुष्टि भएको थियो ।

त्यसलगतै परीक्षा सञ्चालक समितिले अर्कै प्रश्नपत्र वितरण गरेर ढिलो गरी परीक्षा सञ्चालन गरेको थियो । पहिल्यै प्रश्नपत्र भेटिएका अधिकारीलाई भने तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरिएको एक प्रहरी अधिकारीले बताए । उनलाई पठाएका मान्छे पछ्याउँदै जाँदा हवल्दार र परिचरको मुख्य भूमिका देखिएको हो । उपत्यका बाहिर पनि प्रश्न पत्र पुगेको पाइएपछि संलग्न प्रहरीहरूलाई प्रधान कार्यालय झिकाइएको छ । मुख्य संलग्न दुईजनालाई भने थुनामै राखिएको छ । गत शुक्रबार र शनिबार भएको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । ६ सदस्यीय छानबिन समितिले अहिले सोधपुछ गरिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर