‘स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने’ : मुख्यमन्त्री कार्की — OSNepal

‘स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने’ : मुख्यमन्त्री कार्की

LC (KTM) February 02, 2025 0

मोरङ, २० माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा आयोजित, ‘विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनाका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो । उहाँले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनातर्फ आकर्षण बढेको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्न लागेको र यसको सफलताका लागि उद्योग सङ्घसङ्गठनहरुलाई आग्रह गर्नुभयो ।

सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोबाट मद्दत पुगेको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रमा बजार चलायमान गर्न एक्स्पोबाट सहयोग पुगेको बताउनुभयो । एक्स्पोमा २६८ कक्षमा स्वदेशी तथा भारत, बङ्लादेश र पाकिस्तानका उत्पादन राखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर