घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने : मन्त्री यादव — OSNepal

घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने : मन्त्री यादव

LC (KTM) January 03, 2025 0

बारा (कलैया), १९ पुसः खानेपानीमन्त्री प्रदीप यादवले जिल्लाका घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताउनुभएको छ ।आज उहाँले नेपाल खानेपानी संस्थान कलैया शाखाद्वारा आयोजित मानमत–कलैया–मटिअर्वा सडकखण्डमा जोडिने खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “बारामा घामपानीले क्षति पु-याएका खानेपानीका सबै ट्याङ्की मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने बचन दिन चाहन्छु ।”

पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी बढेको र जलवायु परिर्वतनका कारण तराईमा भूमिगत खानेपानीसहित चापाकल सुक्दै गएकाले आगामी दिनमा पानीको समस्या थप जटिल हुने अवस्था सृजना भएको बताउनुभयो ।

“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, अहिले तीन सय फिटमा पनि आउन छाडेको छ,” उहाँले भन्नुभयो, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको हाहाकार हुने सम्भावना छ ।”

सिस्वा गाउँ र आसपासका क्षेत्रमा खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको बोलपत्र आह्वान गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर