फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरलाई विद्युतीय स्कुटर — OSNepal

फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरलाई विद्युतीय स्कुटर

LC (KTM) December 31, 2024 0

पाँचथर- जिल्लाको फिदिममा  सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको हो ।

फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले अग्रता लिएको थियो । पैतालीसौँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाउनुभएको हो । ७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काउनु भएको थियो । शनिष श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाउनुभयो ।

खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाउनुभएको थियो । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बन्नुभएका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित हुनुभयो ।

प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे । विजेता र उपविजेता टोलीलाई फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णराज बस्नेत, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरलगायतले पुरस्कार वितरण गर्नुभयो । फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर