काठमाडौँ, १२ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी केन्द्रीय सङ्गठन विभागमा धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनयन गरेको छ । बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरेको प्रवक्ता झाले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टीका कार्यवाहक सभापति अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो । बैठकमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६० जिल्लामा पार्टीको जिल्ला भेला सम्पन्न भएको विवरण पेस गर्नुभएको थियो ।