काठमाडौँ । डिसेम्बर २१ मा आयोजना हुन लागेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड– २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । हिमालयन हबद्वारा प्रस्तुत यो कार्यक्रम नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका कलाकार, निर्देशक र प्राविधिकहरूलाई सम्मान गर्न आयोजना गरिएको हो। अवार्ड मूल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम, ४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुनेछ भने २२ डिसेम्बरका बिहान ११ बजे बार्केलेमा नेपाली कला संस्कृति, भेषभुषा झल्कने झाँकीसहित–प्रभातफेरी नेपाल डे परेड आयोजना गरिनेछ ।
२०८० साउनदेखि २०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा झन्डै डेढ दर्जन विधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक विशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइँदैछ । अवार्डमा सहभागी हुनका लागि नेपालबाट दर्जनौँ सेलिब्रेटी अमेरिका पुगिसकेका छन् । अवार्ड समारोहमा अमेरिकामै रहेका चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजक यज्ञलाल श्रेष्ठले ओएस नेपाललाई जानकारी दिए । आयोजक श्रेष्ठका अनुसार कार्यक्रम भव्य र सभ्य हुनेछ ।
त्यस्तै २२ तारिखका दिन साँझ साडे ६ बजे क्रुस पार्टीको आयोजना गरिएको छ । पार्टी नेपाली कलाकारहरुको सम्मान तथा भेटघाटका लागि राखिएको आयोजकले जनाएको छ । यदी तपाई पनि बे एरिया आसपासको स्थानमा हुनुहुन्छ र नेपालका लोकप्रिय कलाकारहरुसँग भेटघाट गर्दै रमाइलो गर्ने इच्छा छ भने तपाईका लागि पनि यो एउटा अवसर हुन सक्छ ।