राजविराज (सप्तरी)-जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकासका काममा सबै दलबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति सप्तरीद्वारा राजविराजमा सङ्घीय तथा प्रादेशिक कार्यालय एवम् स्थानीय तहहरूबाट सञ्चालित तथा सम्पादित कार्यहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले विकासका काममा राजनीति रङ्ग दिनुभन्दा पनि सबैले सहयोग र सहकार्य गर्न सके जिल्लाको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
अध्यक्ष राउतले विकासका काममा कसैले पनि बाधा पुर्याउन नहुनेमा जोड दिनुभयो । उहाँले विकासलगायत जनताका समस्या हेर्ने जिम्मेवारी रहेका तीनै तहका सरकारलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्नुभयो ।
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा राउतले जिल्लामा रासायनिक मलको अभाव कम गर्नका लागि यसको सही बिक्री वितरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिले बढी चासो देखाउनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य किरणकुमारी साहले राजविराज नगरपालिका क्षेत्रभित्र साबिकदेखि बसोबास गर्दै आएका पाँच हजार परिवार जग्गाको उचित व्यवस्थापन नगर्दा प्रभावित भएको बताउनुभयो । उहाँले बिटौरी जग्गा बाहेकका नाममा अझै लालपुर्जा नआएको भन्दै त्यसबाट विभिन्न समस्या खेप्नु परिरहेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य महेशप्रसाद यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीलगायतले जिल्लाको विकासका लागि समेटिनुपर्ने योजना र त्यसको प्रभावकारी कार्यान्वयनबारे आ–आफ्नो सुझाव राखेका थिए ।