काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद निर्वाचन आयोगले सल्टाएको एक साता नाघिसकेको छ । आयोगले जसपाका कार्यकारिणी समिति सदस्यको ‘टाउको गणना’ गर्दै आधिकारिकताको ‘प्रमाणपत्र’ ११ साउनमा उपेन्द्र यादव समूहलाई दिएको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना उपेन्द्र समूहमा उभिएपछि निर्वाचन आयोगले पार्टी आधिकारिकताको निर्णय उनकै पक्षमा सुनाएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
आयोगको फैसलापछि जसपा अध्यक्ष यादव पक्ष खुसी मनाउँदै राजनीतिक गतिविधिमा सक्रिय छ भने अर्का अध्यक्ष महन्थ ठाकुर समूह भने अहिले मौन छ । कारण, ठाकुर समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट विचाराधीन छ । अदालतको फैसलाको प्रतीक्षामा ठाकुर समूह रहेकाले यो अहिले मौन छ ।
११ साउनपछि पार्टी आधिकारिकताको विवाद सुल्झे पनि आन्तरिक किचलो भने भित्रभित्रै सल्किरहेको छ । अर्थात् अझै पनि जसपामा दुई गुटबीचको लडाइँ जारी नै छ । स्रोतका अनुसार दुईवटै गुटले एकअर्कालाई पूरै गलाउने रणनीति बुनिरहेका छन् । पार्टीको आधिकारिकता पाइसकेका अध्यक्ष यादव भने आफूलाई पार्टीभित्र अझ बलियो बलाउने दाउमा छन् । यही बेला ठाकुर समूह भने आफ्नो पक्षमा बहुमत पुर्याउने कोसिसमा छ ।
पार्टीभित्र आन्तरिक विवाद कायमै रहे पनि जसपा अध्यक्ष यादव भने राजनीतिक गतिविधिमा बढी सक्रिय छन् । पाँच दलीय गठबन्धनको बैठकसहित आफ्नो पार्टीको आन्तरिक छलफलमा पनि उत्तिकै व्यस्त छन् । जसपा अध्यक्ष यादव समूह यो बीचमा केन्द्रीय कार्यकारिणी समितिको बैठकसहित अन्य राजनीतिक गतिविधिमा सक्रिय मात्रै छैन, सरकारमा सहभागी हुनेबारे समेत गृहकार्य गरिरहेको छ । पार्टीबाट क–कसलाई सरकारमा पठाउने भन्नेबारे आफ्ना विश्वासिला नेताहरुसँग विमर्शमा अध्यक्ष यादव जुटेका छन् । यादवले भने, ‘अहिले हामी पार्टीको आन्तरिक छलफलमा छौं, सरकारमा जानेबारे सहमतिबाट टुंगो लगाउने कार्य अन्तिम चरणमा छ । अब हुने मन्त्रिमण्डलको विस्तारमा हामी सहभागी हुनेछौं ।’
जसपाकै अर्का अध्यक्ष ठाकुर समूहको अवस्था भने अहिले फेरिएको छ । उक्त समूह यतिबेला न पार्टी फोडेर जान सक्ने अवस्थामा छ न त सरकारमै सहभागी हुन पाउने स्थितिमा छ । पहिलो कुरा त, यो समूहले सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेको छ दोस्रो कुरा, पार्टी फुटाउन सक्ने बहुमत छैन । त्यसैले कानुनी उपचारको लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको हो । पार्टीका जानकार नेताहरुका अनुसार ठाकुर समूह अर्को चाल चल्ने दाउमा छ । त्यो समूह अहिले जसपा अध्यक्ष यादवसहितको टोली कहिले सरकारमा जाला भन्ने प्रतीक्षा गरेर बसिरहेको छ । ठाकुर निकट एक सांसद भन्छन्, ‘अहिले हामी अदालतको फैसला कुर्दै छौं, तर त्यो आउनु भन्दा अगाडि नै सम्भवतः उपेन्द्र समूह सरकारमा जान्छ । त्यसपछि उनीहरुसँग सरकारमा नगएर असन्तुष्ट हुनेहरुलाई आफ्नो पक्षमा ल्याइन्छ । अनि बहुमत जुटाएर केही समयपछि अर्को पार्टी खोलिन्छ ।’