नेकपा खारेजीको परिणाम : तीन महिनामा तीन पटक दल बदल ! — OSNepal

नेकपा खारेजीको परिणाम : तीन महिनामा तीन पटक दल बदल !

LC (KTM) August 05, 2021 0

काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले तीन महिनामा तीनै पटक दल बदल गरेकी छन् । तर, उनलाई कुनै दलको ह्वीप नलाग्ने र कसैले कारवाही गर्न नसक्ने कानुनका जानकारहरू बताउँछन् । एमाले रोजेको स्वीकार गरेमा उनको सांसद पद रिक्त गराउने चेतावनी दिएको केही घण्टा नबित्दै उनी पुनः माओवादीको सम्पर्कमा पुगेको हल्ला चल्यो । तर, एमाले नेताहरूले विमला आफूहरूसँगै रहेको दावी गरे । सभामुख माओवादीका भएकाले लुम्बिनी प्रदेशसभाबाट सांसदहरुलाई पदमुक्त गराउन सजिलो थियो । माओवादीले कारवाही अघि बढाएपछि सोही पार्टीमा फर्किने अपेक्षा माओवादी नेताहरूको छ । विमलाले तीन महिनाको बीचमा तीनपटक पार्टी परिवर्तन गरिसकेकी छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसअघि माओवादीले एमालेतर्फ लागेका दुई प्रदेशसभा सदस्यको पद रिक्त गराइसकेको छ भने गठबन्धनको पहलमा एमालेका दुईजना प्रदेशसभा सदस्यलाई राजीनामा गराएर मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा पार्ने प्रयास पनि भइसकेको छ । अहिले गठबन्धनले नै जसपाको महन्थ पक्षका ३ जना प्रदेशभा सदस्यलाई पदमुक्त गराएका छन् र उनीहरुको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ । सत्ता राजनीतिका घृणित खेल चलिरहेको लुम्बिनीमा अब विमला वली प्रकरण भने नेपाली राजनीतिकै ‘केस स्टडी’ बन्न सक्छ ।

विमला फागुन २३ को फैसलापछि एमालेका बैठकमा सहभागी भएकाले उनले एकपटक दल रोजिसकेकाले फेरि अर्को दलमा गएमा दल त्याग गरेको मानिने एमालेको भनाइ छ । अहिले विमला एमाले हुन् कि माओवादी ? उनी आफैं नबोलेसम्म दुवै पक्षले हकदावी पेस गरेका छन् । माओवादीले बुधबार बिहानमात्र विमलाले एमाले रोजेमा उनको सांसद पद रिक्त गराउने चेतावनी दिएको थियो । त्यस लगत्तै विमलाले माओवादी नेताहरूलाई मेसेज गरेर आफू माओवादीमै रहेको बताएको ती नेताहरूको दावी छ ।

तर, अरु सांसदलाई पदमुक्त गराएजस्तो प्रक्रिया विमलाको केसमा छैन । उनी न त एमालेबाट निर्वाचित भएकी हुन्, न माओवादीबाट । सर्वोच्च अदालतबाट खारेजीमा परेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट २०७६ मंसिरको उपचुनावमा निर्वाचित भएका नेकपा खारेजीसँगै शुरूमा एमालेको संसदीय दलको बैठकमा भाग लिएकी थिइन् ।

शंकर पोखरेल सरकार ढाल्ने खेल शुरू भएपछि सांसदहरुको राजीनामा, पदमुक्ति र अदलबदल चलिरहदा विमला केही दिन बेपत्ता भइन् । अचानक उनी वैशाख १९ गते माओवादी नेताहरुसँगै पत्रकार सम्मेलनमा उपस्थित भएर आफू निर्वाचित दल नेकपा खारेज भएकाले माओवादी केन्द्र रोजेको घोषणा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर