वीरगञ्ज (पर्सा),-अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘ए डिभिजन लिग फुटबल क्लब’ लाई कम्पनी मोडलमा अघि सार्ने योजना बनाएको छ । सङ्घ क्लब मोडलमा रहेका क्लबलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर अघि बढाउने तयारीमा जुटेको हो ।
सङ्घका महासचिव किरण राईले ‘ए डिभिजन लिग’ खेल्ने फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्न ढिला गर्न नहुने बताउनभयो । यहाँ आयोजित भेट्रान्स सिटी क्लब वीरगञ्जको आठौँ वार्षिक साधारणसभामा उहाँले नेपालका फुटबल क्लबलाई व्यावसायिक रूपमा अघि बढाउन पनि कम्पनी मोडलमा लैजानुपर्नेमा जोड दिनुभयो । “नेपालका डिभिजन लिग खेल्ने फुटबल क्लबहरू अहिलेसम्म व्यावसायिक रूपमा सञ्चालन हुन सकिरहेका छैनन् । अधिकांश क्लब भावनात्मक लगानीका आधारमा चल्दै आइरहेका छन्”, महासचिव राईले भन्नुभयो, “जबसम्म क्लबहरू व्यावसायिक बन्दैनन्, तबसम्म राम्रा खेलाडी उत्पादन गर्न पनि सकिँदैन ।”
उहाँले अबदेखि एन्फाले फुटबल एकेडेमी सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने तयारी गरिरहेको जानकारी दिनुभयो । “अब एन्फा एकेडेमी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । निजी क्षेत्रबाटै एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने र खेलाडीको बिक्री गर्ने प्रचलन पनि ल्याउनेछौँ ।”
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पालिकाले पनि खेलकुदका पूर्वाधार र गतिविधिमा लगानी गर्दै आएको बताउनुभयो । “खेलकुदको विकास र प्रवद्र्धनका लागि सबैसँग सहकार्य गर्दै आइरहेका छौँ । आगामी दिनमा पनि निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले फुटबल खेलको विकासका लागि निरन्तर काम भइरहेको बताउनुभयो । “विगत ११ वर्षदेखि विभिन्न खेलकुदका गतिविधि गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “राज्यले पनि खेलकुदको विकासका लागि हातेमालो गरेर अघि बढ्न जरूरी भइसकेको छ ।” क्लबका महासचिव पङ्कज श्रेष्ठले क्लबले गरेका आर्थिक प्रगति विवरण पेस गर्नुभएको थियो ।