म्याग्दी (बेनी), १२ मङ्सिर : म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । छात्राहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले लायन्स क्लबअफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिनुभयो ।
छात्रा फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ क्लबले आयोजना गरेको प्रथम लायन्स कपअन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा फुटबल प्रतियोगितालाई रनिङ शिल्डको रूपमा हरेक वर्ष आयोजना गरिने उहाँको भनाइ छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यार्थीमा अध्ययन सँगसँगै खेल प्रतिभाकोसमेत विकास हुनुपर्ने बताउँदै महिला फुटबल खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रवक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल सङ्घका अध्यक्षकुमार बानियाँले छात्राको फुटबल प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्न सहयोग पुग्नेमा जोड दिनुभयो ।
प्रतियोगिताको विजेताले रू ३५ हजार, उपविजेता रू २० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र र अनुशासित टिमलाई रू पाँच हजार नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिने प्रथम उपाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।