ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना — OSNepal

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

LC (KTM) November 15, 2024 0

विराटनगर, ३० कात्तिक : आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले सो कार्यालयको आज उद्घाटन गर्नुभयो । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत भट्टराईले आजै सर्वदलीय छलफल गर्नुभएको छ । उहाँले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मङ्सिर २ गतेदेखि सुरू हुने र पहिलो दिन बिहान १० बजेदेखि मनोनयन दर्ता र यसका लागि राजनीतिक दलहरुलाई समय पनि निर्धारण गरिएको बताउनुभयो ।

निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी गराउनुभएको थियोे । सात वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर