बुद्ध एयरको जहाजमा एक घन्टा राखेर पुनः प्रतीक्षा कक्षमा झारियो रविलाई — OSNepal

बुद्ध एयरको जहाजमा एक घन्टा राखेर पुनः प्रतीक्षा कक्षमा झारियो रविलाई

LC (KTM) November 12, 2024 0

रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुद्ध एयरको जहाजमा एक घन्टा राखेर पुनः प्रतीक्षा कक्षमा झारिएको छ ।अहिले जहाजबाट रविसहित सबैलाई झारेर प्रतीक्षा कक्षमा लगिएको जनाइएको छ । उनलाई पोखरा विमानस्थलको विशिष्ट कक्षमा राखिएको छ भने अन्य यात्रुहरूलाई प्रतीक्षा कक्षमा राखिएको छ ।

पोखरा जहाजस्थलमा पनि उनलाई विशेष सुरक्षाभित्र राखिएको बताइएको छ । २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रविलाई पोखराबाट बयानका लागि भैरहवामा ल्याउन बिहानै साढे ५ बजे नै उनलाई जहाजस्थल पुर्‍याइएको थियो । बिहान पौने ८ को उडान भएपनि भैरहवामा भिजिविलिटी नभएकोले बाहिरै राखिएको थियो ।

भैरहवामा मौसम सुधार भएको भन्दै १०स्२९ बजे जहाजमा राखिएपनि साढे ११ बजेसम्म भैरहवामा कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेको छैन ।यता रुपन्देहीमा लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध जहाजस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सहकारी ठगी आरोप लागेका पार्टी सभापति लामिछाने पोखराबाट भैरहवा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज भैरहवामा प्रदर्शन गर्ने तयारी गरेकाले पनि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका क्रममा लामिछानेसँग आजबाट सरकारी वकिलको कार्यालय भैरहवामा बयान हुँदैछ । बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुंदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा।

बुद्धिप्रसाद शर्माले बताए ।उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरूले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जहाजस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । प्रशासनले भने दुवै तर्फको प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर