व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय — OSNepal

व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

LC (KTM) November 10, 2024 0

विराटनगर, २५ कात्तिकः मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुनेगरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।

स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिनुभयो । “व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ”, उहाँले भत्रुभयो ।

उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष पाँच वर्षको हुनेछ । विद्यार्थीहरूले रु चार लाख ५० हजारमै यो कोर्ष अध्ययन गर्न पाउनेछन् । यो कोर्ष पढ्न चाहने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

उपकुलपति डा पोखरेलले भन्नुभयो,“बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।”

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताउनुभयो । उहाँले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर