प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ — OSNepal

प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ

Kesh Karki (USA) August 04, 2021 0

प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

त्यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर, धनकुटामा छ हजार ३६० हेक्टर, उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलुढुङ्गामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको बताइएको छ ।

यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर