काठमाडौँ, २४ कात्तिक- भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’
नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् ।
यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ–दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो ।
नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो ।
पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पु¥याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ ।
त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना–केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो ।
कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो ।
कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो ।
कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो ।
नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ ।
हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ ।
उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो ।
राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)