काठमाडौँ- नेपालको जलवायु कार्य प्रयासलाई थप बढावा दिन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।मन्त्रालयमा आज भएको सम्झौताको उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप)को आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यस सम्झौताअन्तर्गतका परियोजना जलवायुका क्षेत्रको नेपालको राष्ट्रिय प्रतिबद्धतामा भएको प्रगतिको प्रतिवेदन तयार गर्ने क्षमतालाई सुदृढ गर्न केन्द्रित हुनेछ । जुन विश्वव्यापी जलवायु कार्यको लागि महत्त्वपूर्ण प्रतिबद्धता हो । यो परियोजनाले कृषि, वन, ऊर्जा, उद्योग र फोहोरजस्ता क्षेत्रहरूमा हरितगृह ग्याँस उत्सर्जनको निगरानी गर्नका लागि संस्थागत गर्न योगदान गर्ने बताइएको छ ।
सम्झौताअन्तर्गत तीन वर्षे अवधि रहने सहयोगात्मक परियोजनाको बजेट २ दशमलव ८४ मिलियन अमेरिकी डलर रहेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले यो साझेदारीले नेपालमा जलवायु शासन प्रणाली निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम अघि बढेको बताउनुभयो । साथै उहाँले यसले नेपाललाई आफ्नो जलवायु लक्ष्यहरू प्राप्त गर्न र विश्वव्यापी जलवायु कार्यमा योगदान गर्न सक्षम बनाउने राष्ट्रिय क्षमता र प्रणालीलाई सुदृढ पार्न योगदान गर्ने उल्लेख गर्नुभयो ।
मन्त्रालयको योजना, अनुगमन र समन्वय महाशाखा प्रमुख एवं सहसचिव बद्रीराज ढुङ्गानाले सम्झौता नेपालको जलवायु कार्य रणनीतिको लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो । यसले नेपाल आफ्नो जलवायु लक्ष्यहरूप्रति उत्तरदायी हुनेछ भन्ने सुनिश्चित गर्ने उहाँको भनाइथियो ।