प्रधानमन्त्री ओलीले गरे तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनको उद्घाटन — OSNepal

प्रधानमन्त्री ओलीले गरे तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनको उद्घाटन

LC (KTM) October 28, 2024 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनको उद्घाटन गर्नुभएको छ । शनिबारदेखि काठमाडौंमा आरम्भ भएको विश्व नेपाली साहित्यक सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो । उक्त अवसरमा उहाँले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पद चिहृन छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको थियो ।

उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड-१९ का बेला ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि स्रष्टाहरूलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरूलाई सम्मान पनि गर्नभएको थियो । सो अवसरमा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण गरिएको थियो ।

‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा–प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारलगायतको उपस्थिति थियो । महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ले कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको जानकारी गराउनुभयो ।

शनिबारको कार्यक्रममा केही सिर्जना वाचन र विशिष्ट मन्तव्यहरू रहेका थिए । चौथो सत्र आज (आइतबार) बिहान सात बजेदेखि सुरु हुने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । शनिबारको सत्रमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूका बारेमा रिपोर्टिङ हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर