उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन मन्त्री यादव प्रतिबद्ध — OSNepal

उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन मन्त्री यादव प्रतिबद्ध

LC (KTM) October 28, 2024 0

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादव सम्मानित हुनुभएको छ । उहाँ मन्त्री भएपश्चात उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले सम्मान गरेको हो ।

मन्त्री यादवले सम्मान कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई पानी नभइ नहुने कुरा हो, पानीविना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम चालिनेछ ।”

यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्न सधैँ तत्पर रहेको बताउनुभयो । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं सङ्घर्ष समितिले राखेका मागका विषयमा उहाँले ओभरहेड ट्याङ्की निर्माण गर्न बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न सिस्नेरीबाट पानी ल्याउने पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी वितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर पानीको समस्या समाधान गर्ने छौँ ।”

सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुविधा दिएको भन्दै मन्त्री यादवको प्रशंसा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर