दमौली बजारमा सडक विस्तारले गति लिँदै — OSNepal

दमौली बजारमा सडक विस्तारले गति लिँदै

LC (KTM) October 28, 2024 0

दमौली (तनहुँ), १२ कात्तिक : निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ ।

पाण्डेले भन्नुभयो, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।” पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

पाण्डेले भन्नुभयो, “दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।”

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताउनुभयो ।

पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ ।

पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो । त्यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर