कमल थापालाई चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि — OSNepal

कमल थापालाई चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि

LC (KTM) October 25, 2024 0

काठमाडौँ- कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जितेका हुन् ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।

महिला सिङ्गल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिलाषाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकालिन् । पुरुष सिङ्गल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेरसमूहको गल्र्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिङ्गल्समा नैरा घलेले फाइनलमा रजिशा जोशीलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिङ्गल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।

उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गल्र्सकै यु–१० उमेरसमूहको सिङ्गल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर