जडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ ।
स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पु¥याउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आउनुभएको छ । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।
यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । सो अवसरमा गुर्जोको चिया, गुर्जोबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार ३५ जिल्लामा एक हजार पाँचसय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको उहाँले बताउनुभयो ।
यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा पनि रोप्ने भएको छ । प्रत्येक वर्ष अगस्त ४ तारिखका दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गर्नुभएको जनाइएको छ । यस वर्ष अगस्त ४ तारिखका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।
–––