लुम्बिनीमा सरकार ढाल्ने तेस्रो प्रयास ! सफल होला त ? — OSNepal

लुम्बिनीमा सरकार ढाल्ने तेस्रो प्रयास ! सफल होला त ?

LC (KTM) August 04, 2021 0

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ४ महिनामा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलबार पौने ४ बजे ३४ जना सांसदको हस्ताक्षरसहित गठबन्धन दलहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सवा ४ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशनको माग गरेका थिए । सरकार परिवर्तनको तयारीमा लागेका लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको ४ महिनामा यो तेस्रोपटक हो । अब कानुनअनुसार १५ दिनभित्र संसद अधिवेशन बोलाउनुपर्ने छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाइएको छ । कांग्रेस–माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चासहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छन् । सोमबार नै बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाइएको थियो । तर सोमबार नै उक्त पत्रमा हस्ताक्षर रहेकी सांसद विमला वलीले आफू एमालेमा रहेको बताएकी थिइन् ।

बैशाख महिनायता सत्तारुढ नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको यादव समूह र जनमोर्चाले गठबन्धन बनाएर सत्ता ढाल्न लागिपरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमाथि छलफल गर्न बैशाख १९ मा बोलाइएको संसद अधिवेशन बस्दै नबसी सरकारले अन्त्य गरेको थियो । सोही दिन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर धारा १६८ को १ अनुसार पुनः मुख्यमन्त्री नियुक्ति भएका थिए ।

विपक्षी गठबन्धनले त्यो नियुक्तिलाई गैरकानुनी भन्दै विरोध गर्दै आएको छ । त्यस दिन मुख्यमन्त्रीको सपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा विपक्षीले धर्ना दिएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री कार्यालयमै पुगेर सपथ खुवाए । दोस्रो पटक वैशाख २६ गते पुनः विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वासको प्रस्ताव प्रदेश प्रमुख यादवले संविधान बमोजिम नभएको भन्दै खारेज स्थगित गरिदिएका थिए ।

विपक्षी गठबन्धनले यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवका कारण मुख्यमन्त्री पोखरेललाई हटाउन नसकेको निष्कर्ष निकालेका थिए । संघीय सरकार परिवर्तनसँगै प्रदेश प्रमुखमा माओवादी कोटाबाट अमिक शेरचन आएका छन् । प्रदेश प्रमुख फेरिएपछि विपक्षी गठबन्धन दल नयाँ सरकार बनाउन कस्सिएका छन् । आइतबार बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । गठवन्धनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर