भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको खानतलासी — OSNepal

भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको खानतलासी

LC (KTM) October 22, 2024 0

काठमाडौँ, ६ कात्तिक- भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उहाँले बताउनुभयो । भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिनेछ । अहिले काठमाडौँ विमानस्थलको उडान–अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर