बिपी मेमोरियल क्रिकेट : बङ्गलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी — OSNepal

बिपी मेमोरियल क्रिकेट : बङ्गलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

LC (KTM) October 21, 2024 0

भैरहवा (रुपन्देही), ५ कात्तिक : भैरहवामा जारी बिपी मेमोरियल कप टि–२० क्रिकेट प्रतियोगिता आज तेस्रो दिन भएका खेलमा बङ्गलादेशको साइक क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी विजयी भएका छन् ।

साइक क्रिकेट एकेडेमीले श्रीलङ्का राज्य सेवा क्रिकेट सङ्घ श्रीलङ्कालाई ८ विकेटले पराजित गरेको हो । साइकको यो लगातार दोस्रो जित हो । श्रीलङ्कन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने पाकिस्तानी टिम जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीको लगातार तेस्रो हार हो ।

आज भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलङ्कन टिमबाट पाएको एक सय १३ रनको लक्ष्य बङ्गलादेशको साइक क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर एक सय १८ रन बनाउँदै सहजै भेटाइयो । उसको जितमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकी यइनिङ खेल्नुभयोे । यस्तै, सादइन्व मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गर्नुभयो । बलिङमा श्रीलङ्का राज्य सेवा क्रिकेट सङ्घका रवि किरण र वाहिदले १–१ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कन टिमले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा एक सय १२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानीवासु पल्लीले अविजित ५४ रन बनाए जितका लागि पर्याप्त भएन । त्यस्तै, राजविरले ३२ रन बनाए भने दुई खेलाडी शून्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । बलिङमा साइक क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २–२ तथा रकिब अहमदले १ विकेट हात पारे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद ईन्टरनेशन लक्रिकेट ऐकेडेमी १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै, बसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट लिनुभयो । जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमराननाजिरले १२ र अली हुसेनले १० रन जोड्नुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कूल ८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाउनुभयो । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद इन्टरनेशनल क्रिकेट एकेडेमीका जेम खानले ३ विकेट लिनुभयो ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट सङ्घको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर