नेपाल रेडक्रस केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग — OSNepal

नेपाल रेडक्रस केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग

LC (KTM) October 21, 2024 0

काठमाडौँ, ५ कात्तिकः नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति थियो ।

बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशन आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ । विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको उहाँले बताउनुभयो ।

संस्थाको सुदृढीकरण, संस्थामा लामो समयदेखिको विवादलाई अन्त्य गर्नका लागि र सामूहिक प्रतिबद्धतासहितका सुधारका कार्यहरू अगाडि बढाउने बैठकको निर्णय छ । अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान कार्यसमिति समिति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

वर्तमान कार्यसमितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । संस्थाको मौजुदा विधानमा मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यतालगायत आधारमा समसामयिक सुधारका लागि एक समिति गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उहाँले संसारका अधिकांश मुलुकमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी सञ्चालन भइरहेका सन्दर्भमा नेपालमा हालसम्म पनि रेडक्रस ऐन जारी हुन नसकाले सरकारसँग समन्वय र सहयोगका लागि सो समिति गठन गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर