कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन — OSNepal

कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन

LC (KTM) October 20, 2024 0

भेरिगङ्गा (सुर्खेत), ४ कात्तिकः कर्णाली प्रदेश राजधानी सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको आज प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा उहाँले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले चालु आर्थिक वर्षमा योसहित पाँच वटा प्रयोगशाला स्थापना भएको जानकारी दिनुभयो । देशभर विषादी प्रयोगशालाको सङ्ख्या १२ पुगेको छ । यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफूल खानबाट जोगिन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

वीरेन्द्रनगरको बुलबुले हाटबजारमा स्थापित प्रयोगशालाबाट गत साउनदेखि नै परीक्षण सुरु गरिए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो । प्रयोगशालामा हालसम्म विभिन्न फलफूल र तरकारीका ४९ वटा नमूनामा विषादीको मात्राको अवस्था परीक्षण गरिएको थियो । जसमा भारतबाट आएका फलफूल र तरकारीमध्ये पाँच र चीनबाट आएका वस्तुको एउटा नमूना परीक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख रोकायले जानकारी दिनुभयो ।

यस्तै, सल्यान र सुर्खेतबाट आएका पाँच÷पाँच, दैलेखका २०, जुम्लाका पाँच, दाङका ६ र कैलालीबाट आएको एउटा तरकारी र फलफूलजन्य वस्तुको परीक्षण गरिएको त्यसअवसरमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर