मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार — OSNepal

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

LC (KTM) October 14, 2024 0

बनियानी (झापा), २८ असोज : झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ । मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
“यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर