पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र — OSNepal

पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र

LC (KTM) October 08, 2024 0

बैतडी, २२ असोजः दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ । दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता यही असोज २८ गतेदेखि सुरु हुँदैछ ।

प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिनुभयो । वडा नं ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित, खेलाडी टोली दर्तालगायतको काम जारी रहेको छ ।

प्रतियोगिताका लागि खेल टोली दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिनुभयो । खेलाडी टोली दर्ता शुल्क रु १२ हजार ५०० राखिएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो । यस्तै, उपविजेता टोलीले रु ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वनास्वरूप रु १०÷१० हजार, सर्वाेत्कृष्ट खेलाडीले रु ११ हजार १११, सर्वाेत्कृष्ट ब्याटर र बलरले समान रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले रु एक हजार १११ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन् । सहभागी हुने टोलीले चारजना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ । खेल टेनस बलले खेलाइने र एलबिडब्लू आउट लागू नहुने आयोजकले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर