जयसिंह धामीको हत्यारालाई कारबाहीको माग गर्दै भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र — OSNepal

जयसिंह धामीको हत्यारालाई कारबाहीको माग गर्दै भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र

LC (KTM) August 04, 2021 0

काठमाडौं । संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जयसिंह धामीको हत्यारालाई कारबाही गर्न माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउन नेपाल स्थित भारतीय दूतावास पुगेको छ ।

गत श्रावण १५ गते नेपालको दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा जयसिंह तुइन तरिरहेका बेलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएपछि युवा संगठन कारबाहीको माग गर्दै दूतावास पुगेको हो ।

विज्ञप्तिमा युवा संगठनले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट पटक पटक नेपाली नागरिकहरु प्रताडित हुनु दुःखद, विडम्बनापूर्ण र आपत्तिजनक भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ “विगतमा पनि गोविन्द गौतमजस्ता थुप्रै युवाहरुले भारतीय ज्यादतीबाट ज्यान गुमाउन पुगेका छन् भने आजसम्म कुनै हत्याराको भारत सरकारले कारबाही गरेको छैन् । यस्ता अमानवीय घटनाले दुई देश र दुई देशका नागरिक बीचको सम्बन्धमा समेत प्रतिकुल असर पर्दछ ।

आफ्नो देशको सुरक्षाकर्मीबाट कायरतापूर्ण रुपमा छिमेकी देशको युवालाई हत्या गरिदा समेत कुनै कारबाही नहुनु, पीडितका परिवारले क्षतिपूर्ति नपाउनु भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकका लागि अत्यन्त लज्जास्पद विषय हो । यस्ता घटना घटाउने अपराधीलाई भारतीय सरकारले अविलम्ब कारबाही गरोस् । ”

साथै संगठनले दोषीलाई कडा कारबाही गर्न, सिमा अतिक्रमण बन्द गर्न, सिमानामा हुने ज्यादतीको अन्त्य गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।कार्यक्रमलाई संगठनका अध्यक्ष प्रकाश रिमाल र अध्यक्ष फणीराज लोहनी (राजु) ले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर