जलेश्वर, १८ असोज : महोत्तरीसहित नेपाल र भारतको क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा बनाइएको दुर्गा भवानीको प्रतिमा अगाडि गए रातिदेखि झिझिया नृत्यको सुरुआत भएको छ । यससँगै मैथिली गीत सङ्गीतले सङ्गीतमय हुँदै अहिले सम्पूर्ण मिथिलाञ्चलको गाउँ गाउँमा झिझिया नृत्यको रौनक देखिएको छ ।
“तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।”
“चल चल गे गैनिया कदम तर, तोहर बेटा के खैबौ बरहम तर” “माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे”
लगायतका झिझिया नृत्यका गीतहरूले अहिले सम्पूर्ण मिथिलाको गाउँगाउँ झुमेको छ भने मिथिलाको प्रत्येक गाउँगाउँमा अहिले रातिको बेला झिझिया नृत्यको रौनक देख्न सकिन्छ । हिजो बडादसँैंको सुरुआत भएसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुबनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा गएराति पहिलो झिझिया नृत्य नाचियो भने अहिले सम्पूर्ण मिथिलाञ्चलभर झिझिया नृत्यको रौनक छाएको छ ।
सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा झिझिया नृत्य महोत्तरीलगायत मिथिलाञ्चलभरि नाचिने गरिएको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउनुहुन्छ । यस नृत्यमा पूर्णरूपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ ।
झिझियाको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ । समाजमा प्रचलित आमविश्वास अनुसार गाउँकी बोक्सी महिला जादूमन्त्र सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात, बालबालिकालाई कुनै कारणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई ज्यूँदो पारी नाङ््गै नृत्य गर्छ ।
विजया दशमीका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिला नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ ।
झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकको भनाइ छ । झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहीत विशेष अर्थलाई सङ्केत गर्छ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ, भन्ने जनविश्वास रहेको झिझिया नाच्ने जलेश्वर–८ की महिला अकलीदेवी बताउँछिन् ।
यसमा देवी स्तुति गरिएको र बोक्सीलाई गाली गरिएको गीत प्रस्तुत गरिने चलन रहेको छ । यसमा पाँच देखि २५ जना महिलाको टोली हुन्छ जसमध्ये एक वा दुई जनाको टाउकोमा घैँटो राखिएको हुन्छ । एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउमा ताली बजाउँछन् । महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन् । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ । झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ ।
।
मिथिलामा झिझिया नृत्युको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । ग्राग्रीमाथि आगोको डल्ला लिएर नृत्यगर्नु आफैँमा साहास र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य । समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभइ सहरमा समेत प्रचलनमा छ र यसलाई निरन्तरता दिइँदैछ । नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ । चार÷पाँचवर्षका बालबालिकादेखि लिएर किशोरी र अधबैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् ।
टाउकोमाथि राखिएको घैँटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । खासगरी यसरी नृत्य गर्दा बोक्सीको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ । नृत्यको बेलामा बोक्सीलाई सक्दो गाली गरिन्छ ।
बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वास बाहेक अरु केही मान्न नसकिने भन्नेको पनि कमी छैन । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।