विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का — OSNepal

विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का

LC (KTM) October 03, 2024 0

काठमाडौँ, १७ असोजः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पु¥याउनेसम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनुभएको छ

नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै उहाँले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा भएको बताउनुभयो ।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताउनुभयो । “आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बङ्गलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको छ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो”, ऊर्जा मन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बङ्गलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमा थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारण लाइनबाट बङ्गलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त भएका सन्दर्भमा १५ हजार मेगावाट निर्यातका लागि उपयोग हुने धारणा राख्नुभयो । त्यसमध्ये पनि पाँच हजार मेगावाट बङ्गलादेशका लागि नै भएको उहाँको कथन छ ।

ऊर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले बङ्गलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गरेर जलविद्युत् विकासलाई गति दिन सकिने बताउनुभयो । आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय ऊर्जा साझेदारीको घोषणा गरेको उहाँको कथन छ ।

बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले दक्षिण एशियाको ऊर्जा सहकार्यका लागि आजको सम्झौता ऐतिहासिक कोशेढुङ्गा भएको बताउनुभयो । आगामी दिनमा यस प्रकारको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्दै उहाँले एक अर्काको पारस्परिक लाभ र साझा सहकार्यका लागि पनि सम्झौता महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

नेपालका लागि भारतका राजदूत नीवन श्रीवास्तवले दक्षिण एशिया उपक्षेत्रीय विद्युत् साझेदारीका लागि आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्युत् निर्यातका सन्दर्भमा नेपालका लागि आजको दिन महत्वपूर्ण रहेको बताउनुभयो । नेपालले भारतमा विद्युत् निर्यात गर्न थालेदेखिकै ठूलो उपलब्धि हासिल गरेको उहाँको भनाइ थियो । कूल ३० मेगावाटबाट सुरु भएको बिजुली निर्यातको यात्रा एक हजार मेगावाट बराबर पुगेको उल्लेख गर्दै उहाँले भारतीय कम्पनीहरु नेपालमा लगानीका लागि खोजिरहेको बताउनुभयो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर