नेपाली सेनाद्धारा बाढीपहिरो प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार — OSNepal

नेपाली सेनाद्धारा बाढीपहिरो प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार

LC (KTM) September 30, 2024 0

काठमाडौँ, १४ असोज : नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ ।
गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

“बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका पाँच सय ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पु-याइएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।” गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । “हवाइ उद्धार अन्तिम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ ।”

सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पु-याउँदै आएको छ । गृह मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको जनाइएको छ । विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार बेलुकीसम्म विपद्मा परी दुई सय नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्ग सुचारु गर्ने क्रम जारी छ । कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर