संविधान संशोधनमाथि कुप्रचार गरिनु ठिक हुँदैनः मन्त्री दाहाल — OSNepal

संविधान संशोधनमाथि कुप्रचार गरिनु ठिक हुँदैनः मन्त्री दाहाल

LC (KTM) September 28, 2024 0

दमक(झापा),१२ असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताउनुभएको छ ।
नेकपा (एमाले) दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिँदै आएको उल्लेख गर्नुभयो । मन्त्री दाहालले समानुपातिक, समावेशी, संघीयता लगायतका अपरिहार्य बुँदालाई तलमाथि गर्न नसकिने टिप्पणी गर्नुभयो ।

निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो । महिला, जनजाति लगायतको प्रत्यक्ष निर्वाचनमै संशोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री दाहालको भनाइ छ । मन्त्री भएपछि पहिलो पटक गृह नगर दमक आउनुभएका दाहालले आम जनताको सल्लाह सुझावमा संविधान संशोधन हुने बताउनुभयो ।

संविधानको प्रसङ्ग उठाउँदै एउटा पार्टीको चाहनामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । देशको आवश्यकताका लागि ठुला दल एकै ठाउँमा आउनु अहिलेको साझा खाँचो भएको उहाँको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर