नमूना परीक्षण गराउने कम हुँदा सङ्क्रमण दर ह्वात्तै घट्यो — OSNepal

नमूना परीक्षण गराउने कम हुँदा सङ्क्रमण दर ह्वात्तै घट्यो

LC (KTM) August 03, 2021 0

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रदेशमा हाल कोरोना सङ्क्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ ।’’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

सो अवधिमा ४७६ सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । दुई जनाको मृत्यू भएको छ । सक्रिय सङ्क्रमित बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय सङ्क्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महीना शुरु भएसँगै घटेको देखिएको छ ।

कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा सङ्क्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११प्रतिशत हो । पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किनुभएको छ । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट सङ्क्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन ।

नमूना परीक्षण गराउने बढ्दा सङ्क्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पु¥याउने भन्ने छ’’, डा अवस्थीले भन्नुभयो,‘‘यसको पूर्व तयारीस्वरुप उपचार व्यवस्थापनका लागि चाहिने सबै सामग्री स्वास्थ्य संस्थामा जुटाउने काम भइरहेको छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर