पहिरोले स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए — OSNepal

पहिरोले स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए

LC (KTM) September 28, 2024 0

रसुवा, १२ असोजः निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।

काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

सडक मार्ग खोल्ने प्रयास गरिए पनि धेरै स्थानमा आएको पहिराका कारण ठाउँठाउँमा हिलोमाटोको लेदोसमेत भरिएको उहाँले बताउनुभयो ।
आज बिहानैदेखि काम सुरू गराइने प्रजिअ खनालले जानकारी दिनुभयो ।

सडकमार्ग अवरूद्ध भएका कारण मानसरोवर कैलाशको धार्मिक यात्रा सम्पन्न गरी फर्केका यात्रु टिमुरेमा रोकिएको सीमा सुरक्षाकर्मीले जानकारी दिएका छन् । चीनबाट आयात भएका दर्जनौँ विद्युतीय सवारीसाधन सडक बन्द भएपछि टिमुरेमै रोकिएका छन् ।

पहिरोका कारण टिमुरे बजार एवं रसुवागढीको सीमावर्ती क्षेत्रमा विद्युत् तथा टेलिफोन विच्छेद भएको छ । भारी वर्षाका कारण बाढीपहिराको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कुनै समस्या भए सुरक्षा अङ्ग वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय सुरक्षा निकायमा खबर गरिदिन अनुरोध गरिएको प्रजिअ खनालले बताउनुभयो ।

विद्यालय जाने बालबालिकालाई एक्लै नपठाउन र सहज स्थान भए पनि रातिको समयमा सवारीसाधन नचलाउनसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । भारी वर्षाकै कारण ग्रामीण क्षेत्रको अधिकांश सडक बन्दहुँदा बडादसैँका लागि खाद्यान्न ढुवानीमा असहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर