दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन — OSNepal

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

LC (KTM) September 27, 2024 0

गलकोट (बागलुङ), ११ असोजः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिनुभयो । सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरेपनि दुई महिनापछि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताउनुभयो ।

सडकको ट्र्याक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले बताउनुभयो । उहाँले वर्षा रोकिँनासाथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिनुभयो । उक्त पहिराका कारण बलेवा, कुश्मिसेरा र बरेङ सडक महिनौँदेखि बन्द छन् ।

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर