जलेश्वर- मिथिलाञ्चललगायत मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व बुधबार मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ । सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व यहाँ सोमबारदेखि नै धार्मिक विधिअनुसार सुुरु भएको थियो । मङ्गलबार बिहान ४ बजेदेखि बुधबार साँझ सवा ५ बजेसम्म व्रतालु महिलाहरू उपवास बसेका थिए ।
यसरी उपवास बसेका महिलाहरू (मिथिलानी) ले आज साँझ सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन् । यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाहरूले आआफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ ।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते आज जितिया व्रत पारण गर्ने उल्लेख छ । तिथिको हेरफेरअनुसार यसवर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको पर्वमा व्रतालु महिलाहरू मङ्गलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपबास बस्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।