मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने — OSNepal

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

LC (KTM) September 24, 2024 0

काठमाडौँ, ८ असोज : महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ ।

महान्यायाधिवक्ता रमेश बडाललेबडालले आज मातहातका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिनुभएको हो । उहाँले अभिभावकको मञ्जुरी नलिइ भागेर विवाह गरेका बालबालिकाको हकमा बालकलाई शरीर बन्धक तथा अपहरण, जवरजस्ती करणी र एकीकृत कसूरजस्ता विषयमा जाहेरीपर्ने र अभियोजन गर्नेगरेको अभ्यास देखिएकाले त्यस्तो नगरी जुन विषयमा अपराध गरेको हो त्यो विषयमा मात्र सजाय गर्ने निर्णय गरी दिर्नेशन दिइएको जानकारी दिनुभयो ।

“अठार वर्ष मुनिका बालबालिकाले बाबुआमाको मञ्जुरी नलिइ प्रेम विवाह गरेको अवस्थामा त्यो बालकलाई धेरै विषयमा बहु मुद्दा लगाउने गरेको देखियो,” महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मायामा परेर भागेर विवाह गरेको बालकलाई शरीर बन्धक, जवरजस्ती करणी, अपहरणजस्ता धेरै विषयमा मुद्दा लगाउन हुँदैन, जुन विषयमा अपराध गरेको हो, त्यो विषयमा मात्र मुद्दा लगाउनुपर्छ ।”

सर्वोच्च अदालतबाट २०७९ कात्तिक २८ सङ्गीता (परिवर्तित नाम) जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोषकुमार यादव भएको अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा ‘जबरजस्ती करणी र बालविवाहमा हुन सक्ने करणीको उद्देश्य, पृष्ठभूमि, तयारी, कार्य र मान्यतामा नै आधारभूतरूपमा फरक रहन जाने हुनाले जबरजस्ती करणीलाई बालविवाहको सन्दर्भमा उमेर मात्रको सीमाबद्ध गर्न सकिने अवस्था रहँदैन’ भनी व्याख्या भएको छ ।

बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य भएको हुँदा यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधिकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्नेगरी अनुसन्धान र अभियोजन गर्नु उचित हुने भएकाले उक्त निर्देशन सबै सरकारी वलिक निकायलाई दिइएको हो ।

बालविवाह बाहेक अन्य विषय बालविवाहको परिणामस्वरूप सृजना भएको परिस्थितिको कारण उत्पन्न भएको र अन्य कसूर गर्ने गराउने मनसाय राखी कार्य भएको रहेनछ भने अधिक अपराधिकरण नहुनेगरी बालविवाहको कसूरमा मात्र अनुसन्धान र अभियोजनको कारवाही अगाडि बढाउन निर्देशित गरिएको छ ।

महान्यायाधिवक्ताबाट सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम ४२ (१) बमोजिम निर्देशन हुन आवश्यक देखिएको उक्त निर्णय गरी मातहतका निकायलाई निर्देशन दिने निर्णय भएको हो ।

कानुनअनुसार मिलापत्र गर्न सकिने

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) तथा नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० बमोजिम मिलापत्र गराउन सकिने कानुनी व्यवस्था छ ।

निर्देशनमा भनिएको छ, “मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गतको सर्वसाधारणको ठगी, अनुचित लेनदेन, सर्वसाधारणको सम्पत्तिको हानिनोक्सानी, आपराधिक विश्वासघात, सर्वसाधारणको सम्पत्तिको हानिनोक्सानीका विषयमा ठेक्का वा करारको काममा फरक पार्नेसम्बन्धी मुद्दा, सर्वसाधारणको सम्पत्ति हानिनोक्सानी भएको मुलुकी अपराध संहिता, २०७४ दफा २८५ बमोजिमको आपराधिक उपद्रबसम्बन्धी मुद्दा कानुनबमोजिम मिलापत्र गराउन सकिनेछ ।”

त्यस्तै महान्यायाधिवक्ता कार्यालयले २०८० साउन ११ को निर्णय बमोजिम जारी भएको नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० को दफा ११ खारेज गरी मिलापत्र हुने मुद्दामा अभियोग माग दाबी वा फैसलामा नै प्रत्येक प्रतिवादीको हकमा विगो रकम यकिन भएको रहेछ भने आफ्नो दायित्वमा रहेको विगो रकमको हकमा पीडित र सम्बन्धित प्रतिवादीले मिलापत्र गर्न चाहेमा यस्ता प्रतिवादीको हकमा आंशिक मिलापत्र गराउन सकिने निर्णय गरेको छ ।

त्यसैगरी सर्वोच्च अदालतबाट नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिव्यकुमार श्रेष्ठ समेत भएको बैकिङ्ग कसूर मुद्दामा अभियोगपत्र दायर हुँदा कर्जा चुक्ता भइसकेको देखिएको अवस्थामा समेत उक्त कार्य बैंकिङ कसूर अन्तर्गतपर्ने उल्लेख छ ।

गम्भीर कसूर कायम गरी सजायका लागि माग दाबी गरेको कार्य न्यायोचित समेत नदेखिने भनी प्रतिवादीहरुले अभियोग दाबीबाट सफाई पाउने गरी फैसला भएको सन्दर्भमा ऋण लिएका व्यक्तिले ऋण चुक्ता नगरेको कारणले उत्पन्न भएको बैंङ्किग कसूर वा सहकारी ऐन अन्तर्गतको कसूरको सम्बन्धमा मुद्दा दायर हुनुभन्दा अगाडि तिर्नुपर्ने साँवा, ब्याजभुक्तान गरेको प्रमाण पेश गरेकोमुद्दामा सामान्यतया अभियोजन नगर्ने उल्लेख छ ।

यस्ता मुद्दामा अभियोजन गरिएको भए पनि सम्बन्धित बैंक वा वित्तिय संस्था वा सहकारी संस्था वा पीडित व्यक्ति र प्रतिवादीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ (२) तथा नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० बमोजिम प्रक्रिया पूरागरी मिलापत्र गर्न चाहेमा मिलापत्र गर्न सकिने व्यवस्था छ ।

फरार शब्दको सट्टा ‘अनुपस्थित लेख्ने’

मुद्दाको अनुसन्धानको क्रममा कुनै आशङ्कित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्रका साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्ने निर्देशन भएको छ ।

“प्रहरी वा सरकारी निकायले बोलाएको बेलामा उपस्थित भएको छ, तर कुनै कारणवस एक दिन उपस्थित हुन सकेन भने फरार लेख्ने चलन छ,” महान्यायाधविक्ता वडालले भन्नुभयो, “फरार शब्द लेख्नुभन्दा अनुपस्थित प्रतिवादी लेख्नु राम्रो हुन्छ, सुधारकै प्रयत्नका लागि यो गरिएको हो ।”

खाता रोक्का गर्दा दायित्व जति मात्रै रोक्ने

महान्यायाविक्ताले कुनै अभियोग लागेका मानिसको बैंक खाता पूरै रोक्का गर्ने भएकाले जति मागदावी हो त्यति मात्र रोक्का गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

अनुसन्धानको क्रममा प्रचलित कानुनबमोजिम बैंक खाता वा सम्पत्ति रोक्का राखिएकोमा, अभियोगपत्रमा त्यस्ता बैंक खाता वा सम्पत्तिबाट पीडितलाई विगो वा क्षतिपूर्ति भराइ पाउने वा जफत गरिपाउने माग दाबी लिनुपर्ने अवस्था रहनेछ भने अनुसन्धानका क्रममा रोक्का राखेको बैंक खाता वा सम्पत्ति अभियोगपत्र दायर गर्दाकै बखत वा पक्षको अनुरोधमा अनुसन्धान गर्ने निकायमा फुकुवाको लागि लेखी पठाउने भनिएको छ ।

साथै रोक्का राखेको सम्पत्ति वा बैंक खाताबाट पीडितलाई विगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको रहेछ भने विगो वा क्षतिपूर्ति भराइ पाउने माग दाबी लिइएको हदसम्मको बैंक खातामा रहेको रकम वा सम्पत्ति रोक्का राखी अन्य सम्पत्ति फुकुवाका लागि अनुसन्धान गर्ने निकायमा लेखी पठाउन निर्देशनमा भनिएको छ ।

“कुनै अभियोग लाग्ने बित्तिकै पूरै बैंक खाता रोक्का गर्ने गरेको देखियो, “महान्यायाधिवक्ता बडालले भन्नुभयो, “त्यो गर्दा अन्याय हुने भएकाले जति मागदावी हो, त्यति मात्रै रोक्का गर्न जरुरी छ, बार र सरोकारवालासँग छलफल गरेर यो निर्णय लिएको हो ।”

महान्यायाधिवक्ता बडालले सरकारी नेपाल सरकारवादी हुने मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम पुनरावलोकन गर्ने वा नगर्ने अन्तिम निर्णय सम्बन्धित नायब महान्यायाधिवक्ता गर्ने निर्णय गर्नुभएको छ ।

नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा सम्बन्धित अदालतबाट अभियोग माग दाबी बमोजिम सबै प्रतिवादीको हकमा कसूर ठहर भई सजाय भएको तर जफतको मागदावी लिइएका साधन वा सम्पत्ति जफत नहुने वा सो विषयमा फैसलामा नबोलेकोमा सो हदसम्म पुनरावेदन गर्नुपर्ने अवस्था नभएमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने समेत निर्णय भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी तथा डाँकासम्बन्धी कसूर) बमोजिमको कसूरमा सम्बन्धित अदालतबाट अभियोग मागदाबी बमोजिम सबै प्रतिवादीको हकमा कसूर ठहर भई सजाय भएको तर मागदाबी लिइएको विगोमध्ये बरामद भएको विगो मात्र भराउने गरी फैसला भएकोमा सो हदसम्म पुनरावेदन गर्नुपर्ने अवस्था नभएमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने महान्यायाधिवक्ताले गर्नुभएको छ ।

साथै, महान्यायाधिवक्ताले अभियोजन गर्दाका बखत प्रचलनमा रहेको कानुनबमोजिम जरिबानावा क्षतिपूर्तिको मागदाबी लिइएकोमा फैसला हुँदाको बखत त्यस्तो कानुन निष्क्रिय÷खारेज भएको कारण जरिबाना वा क्षतिपूर्ति भराउने ठहर नभएको वा सो सम्बन्धमा फैसलामा नबोलेको अवस्था भएकोमा पुनरावेदन नगर्ने अन्तिम निर्णय उच्च सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता वा सो हैसियतमा काम गर्ने सरकारी वकिलले गर्ने समेत निर्णय गर्नुभएको छ । महान्यायाधिवक्ताले आज पत्रकार भेटघाट गरी उक्त निर्णय गरेको र मातहातका निकायलाई निर्देशन समेत दिइसकेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर